अप्रिल ९-९, 2022

कयिन र उसले छोडेको नीति

शनिबार

अप्रिल ९

यस अध्यायका मूल पदहरू: उत्पत्ति ४, हिब्रू ११:४, मीका ६:७, यशैया १:११, १ कोरन्थी १०:१३, १ यूहन्ना ३:१२, उत्पत्ति ५ र उत्पत्ति ६:१-५।

यस अध्यायको मूल सार पद: “यदि तिमीले जे ठीक छ त्‍यो गर्‍यौँ भने तिमी ग्रहणयोग्‍य हुँदैनौ र? तर यदि तिमीले ठीक काम गरेनौ भनेता पाप तिम्रो ढोकैमा ढुकिबस्‍छ। त्‍यसको इच्‍छा तिमीप्रति हुन्‍छ, तर तिमीले त्‍यसलाई अधीन राख्‍नै पर्छ (उत्पत्ति ४:७ रूपान्तरित)।

मानिसको पतनपछि र आदम र हव्वालाई अदनको बगैँचाबाट गरिएको निष्कासन पछि उत्पत्तिको पुस्तकमा जे बृतान्तहरू लेखिएका छन् ती मूख्यत गरेर जन्म र मृत्युको बारेमा छ। ती सबै बृतान्तहरू परमेश्‍वरले अदनको बगैँचमा नै गर्नु भएको भविष्यवाणी अनुसार पूरा भएका थिए र भइपनि रहेका छन्। उत्पत्ति ३ र ४मा धैरै साझा विषयबस्तु वा लवजहरू छन्: पापको विवरण (उत्पत्ति ३:६-८सँग उत्पत्ति ४:८ तुलना गर्नुहोस्), आदमाह adamah वा भूमिबाट नै आएको श्राप (उत्पत्ति ३:१७सँग उत्पत्ति ४:११ तुलना गर्नुहोस्), र निष्कासन (उत्पत्ति ३:२४सँग उत्पत्ति ४:१२,१६)। पहिला के भएको थियो, आदम र हव्वालाई पतनपछि परमेश्‍वरले दिनुभएको भविष्यवाणी र वचन पूरा भएको ती तुलनात्मक अंशहरूले स्पष्ट पारेका छन्। आदम र हव्वालाई निष्कासन गरिपछि पहिलो बयानमा तिनीहरूमा पूरा आशा छाएको थियो; तिनीहरूको पहिलो छोरोको जन्म, हव्वाले सुनेको मसीहको भविष्यवाणी (उत्पत्ति ३:१५) उनको पहिलो छोरोबाट पूरा हुने आशा। अर्थात्, पहिलो पुत्र पाउनेबित्तिक्‍कै मसीहको जन्मको भविष्यवाणी पूरा भयो।

अर्को वयान: कैयनको अपराध, लेमाखको अपराध, मानिको उमेर घट्नु, र दुष्टता र अपराधहरू बढ्नु। ती सबै उत्पत्ति ३मा परमेश्‍वरले उच्चारण गर्नुभएको श्रापको परिणाम थियो। यद्यपि, मानव जीवनको निम्ति आशा हराएको छैन।

आइतबार

अप्रिल १०

कयिनर हाबेल

कयिन र हावेल, दुई पुरुषहरूको जन्मको बारेमा हामीले के गहिरो ज्ञान प्राप्‍त गर्न सक्छौँ? हेर्नुहोस्, उत्पत्ति ४:१,२ “आफ्‍नी पत्‍नीसित आदमको सहवास भयो, र तिनी गर्भवती भएर कयिनलाई जन्‍माइन्‌, र भनिन्‌, “परमप्रभुको सहायताले एक पुरुष जन्‍माएँ।फेरि तिनले कयिनको भाइ हाबिललाई जन्‍माइन्‌। हाबिल भेड़ा-गोठाला भए, र कयिनचाहिँ भूमिको खेतीकिसानी गर्ने भए।”

आदम र हव्वालाई अदनको बगैँचाबाट निकालेपछि, बाइबलको लेखकले तुरन्तै तिनीहरूको बालकको जन्मको बारेमा लेखा राखेको पाउँछौँ। हिब्रू भाषामा उत्पत्ति ४:१मा “प्रभु” (यह्वे YHWH)भन्ने शब्द “मानिस”सँग जोडिएको छ। देहायको अक्षरस अनुवादमा यो लेखिन सक्छ, “मैले पुरुषलाई जन्माएँ, जो परमेश्‍वर आफै हुनुहुन्छ।” इन्टरनाशनल स्टान्डर्ड अङ्ग्रेजी अनुवादमा यसरी लेखिएको छ: “मैलै पुरुष बालकलाई जन्माएँ-जो प्रभु हुनुहुन्छ।”

यस अक्षरस अनुवादले यो देखाउँदछ कि जब परमेश्‍वरले मसीहको जन्म हुन्छ भनेर भन्नुभएको थियो जुन उत्पत्ति ३:१५मा उल्लेख गरिएको छ, आफूले मुक्तिदाताको जन्म दिएको भनेर हव्वाले याद गरेकी थिइन् भनेर बुझाउँछ। “मुक्तिदाताको आगमनको बारेमा अदनको बगैँचामा नै भविष्यवाणी गरिएको थियो। जब आदम र हव्वाले पहिलो पल्ट प्रतिज्ञा सुने तब त्यो प्रतिज्ञा तुरन्तै पूरा हुने तिनीहरूले अपेक्षा गरेका थिए। तिनीहरूले हर्ष र आनन्दसाथ आफ्नो पहिलो बालकलाई स्वागत गरेका थिए। त्यो बालक तिनीहरूको निम्ति उद्धारक होला भनेर तिनीहरूले आशा गरेका थिए।”-एलेन जी ह्वाइट, द डिजाएर अभ एजेज्, पृ. ३१बाट रूपान्तरित।

अझ भनौँ भने, कयिनको कथाले आदम र हव्वाको पापपछिको प्रायजसो विवरण ओगोटेको पाइन्छ। कयिन केवल पहिलो पुत्रमात्र थिएन, बाबुआमाले झण्डै “पुजा गरेका” छोरो थियो। उत्पत्तिको पुस्तकको यस अध्यायमा कयिनलेमात्र बोलेको लेखिएको पाइन्छ। कयिनको जन्ममा हव्वा अत्यन्तै खुशी र आनन्दित भएर आफ्नो भावना व्यक्त गरेकी थिइन्, तर हावेलको जन्मको बारेमा केही पनि उनले व्यक्त गरेकी थिइनन्। गरेपनि बाइबलमा लेखिएको छैन, जसरी कयिन जन्मिन्दा व्यक्त गरेकी थिइन्। हावेलको जन्मको मामिलामा लेखकले साधारणरूपमा उनले “फेरी जन्माइन्”मात्र लेखेका छन् (उत्पत्ति ४:२)।

कयिन नाउँ हिब्रू क्रियापदको कनाह qanah बाट आएको हो। त्यसको अर्थ “प्राप्‍त” गर्नु हो अर्थात् कुनै अनमोल र शक्तिशाली थोक आफूले पाएको भनेर बुझाउँछ। तर हावेलको मामिलामा फरक छ। उनको नाउँ हिब्रू हेबेल Hebel बाट आएको हो। अङ्ग्रेजीमा हाबेलको अर्थ “बाफ” (भजन ६२:९) हो, वा “सास” (भजन १४४:४)। यस शब्दलाई भ्रम, शुन्य वा कुनै तत्व नभएको भनेर बुझाउँछ। उपदेशकको पुस्तकमा “व्यर्थ” भनेर हेबेल hebel (हाबेल) भन्ने शब्द पटक पटक प्रयोग गरिएको पाइन्छ। हुनत यी छोटो पदहरूमा हामी विस्तृत छलफल गर्न चाहन्दैनौँ, तैपनि हामी यकिन गरेर यो भन्न सक्छौँ कि आदम र हव्वाको आशा केवल कयिनमाथिमात्र थियो। कयिन नै प्रतिज्ञा गरिएको मसीह हो, हाबेल होइन भन्ने कुरामा तिनीहरूले विश्‍वास गरेका थिए।

हाम्रो जीवनमा साँच्‍चिकै भनौँ भने के हाबेलहरू छन् जसलाई आवश्यकताभन्दा बढि मान्यता दिन्छौँ? के कुरो महत्त्वपूर्ण, जायज र ठिक छ र के कुरो महत्त्वपूर्ण, जायज र ठिक छैन भनेर हामीले कसरी छुट्याउने?

सोमबार

अप्रिल ११

दुई भेटीहरू

कयिन र हाबेलको नाउँहरूको बीचमा भएको उल्लेखनीय मानसिक भिन्नता केवल तिनीहरूको व्यक्तित्वहरूलाईमात्र देखाएको छैन; तिनीहरूको फरक व्यवसायले पनि देखाउँदछ। कयिनको काम भूमि किसानी (उत्पत्ति ४:२) थिए। उसको व्यवसायमा परिश्रम वा पसिना बगाउने शारीरिक कठिन काम गर्नुपर्दथ्यो। तर हाबिलको व्यवसायचाहिँ “भेडा गोठाला” (उत्पत्ति ४:२) थियो। उसको व्यवसाय संवेदनशील थियो र करुणा तथा दयाको आवश्यकता थियो।

कयिन फलफूलहरूको उत्पादक थियो भने हाबेल भेडाहरूको हेरचाह गर्ने। ती दुई व्यवसायले तिनीहरूले ल्याउने भेटीको बारेमामात्र बुझाउँदैन (कयिनले फलफूल ल्याएको थियो भने हाबेलले भेडा), ती भेटीहरूले तिनीहरूको मनौवैज्ञानिक मनस्थिति र दिमाग कस्तो थियो भनेर देखाउँछ: आफूले उत्पादन गरेको फलफूल पाउन कयीनले परिश्रम गरिरहेको थियो भने हाबेल आफूले पाएको भेडाहरूको हेरचाह गर्न होशियार थियो।

जब ती दुई दाजुभाइले परमेश्‍वरको आराधना गर्ने दुई थरिका भेटी ल्याए तब हाबेलकोचाहिँ परमेश्‍वरले ग्रहण गर्नुभएको थियो भने कयिनको अस्विकार गर्नुभएको थियो। यहाँ के भयो हामीले कसरी बुझ्ने? हेर्नुहोस् देहायका पदहरू, उत्पत्ति ४:१-५ “१ आफ्‍नी पत्‍नीसित आदमको सहवास भयो, र तिनी गर्भवती भएर कयिनलाई जन्‍माइन्‌, र भनिन्‌, “परमप्रभुको सहायताले एक पुरुष जन्‍माएँ।२ फेरि तिनले कयिनको भाइ हाबिललाई जन्‍माइन्‌। हाबिल भेड़ा-गोठाला भए, र कयिनचाहिँ भूमिको खेतीकिसानी गर्ने भए। ३ केही समय बितेपछि कयिनले परमप्रभुकहाँ भूमिको उब्‍जनीबाट केही ल्‍याए। ४ तर हाबिलले आफ्‍ना भेड़ाको बगालबाट पहिले जन्‍मेका पाठाहरूका बोसे भाग ल्‍याए। परमप्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो, ५ तर कयिन र तिनको भेटी ग्रहण गर्नुभएन। यसैले कयिन ज्‍यादै रिसाए, र तिनको मुख अँध्‍यारो भयो।” र हिब्रू ११:४ “विश्‍वासद्वारा हाबिलले परमेश्‍वरलाई कयिनले भन्‍दा अझ ग्रहणयोग्‍य बलि चढ़ाए, र त्‍यसद्वारा नै हाबिल धर्मी ठहरिए। तिनको बलि स्‍वीकार गरेर परमेश्‍वरले आफ्‍नो सम्‍मति जनाउनुभयो। तिनी मरे तापनि विश्‍वासद्वारा नै तिनी अझै बोलिरहेका छन्‌।” 

रगत नबगाइकन पाप धुन सकिन्दैन; पशुको अगौटे जीवबाट कयीन र हाबेलले पापक्षमाको निम्ति बगाइने प्रतिज्ञा गरिएको ख्रीष्टको रगतप्रुति विश्‍वास गर्नुपर्दथ्यो। त्यसको अलावा जमिनबाट उब्जेको अगौटे फल त परमेश्‍वरकहाँ धन्यवादको भेटीस्वरूप चढाउनुपर्दथ्यो।”-एलेन जी ह्वाइट, पाट्रियार्क एण्ड प्रोफेटस्, पृ. ७१बाट रूपान्तरित।

निश्‍चयनै हाबेलले परमेश्‍वरले दिनुभएको निर्देशन अनुसार पशुमात्र होइन फलफूलपनि भेटीको निम्ति ल्याएको थियो, तर कयिनले परमेश्‍वरको निर्देशन अनुसार चलेन। उसले बलि दिन पशु ल्याएन, तर केवल जमिनको फलमात्रै ल्यायो। कैयनले खुलेयाम परमेश्‍वरको आज्ञा उल्लङ्घन गरेको थियो, जुन उसको दाजुको बिपरित थियो। यो कथा विश्‍वासद्वारा मुक्ति पाइन्छ भन्ने ज्वलन्त उदाहरणको रूपमा लिएको छ (हाबेल र उसले ल्याएको पशुको रगतको भेटी)। हाबेलले परमेश्‍वरमाथि आस्था राखेर उहाँको निर्देशन अनुसार उहाँलाई भेटी चढायो भने कयिनले आफ्नो कामबाट मुक्ति आर्जन गर्न खोजेको देखाउँछ (आफूले परिश्रम गरेको जमिनबाट फलफूल ल्याएको थियो)। ती भेटीहरूको आत्मिक अर्थ आआफ्नैभएतापनि, ती भेटीहरू आफैमा कुनै जादु वा चमत्कारीय महत्त्व थिएन। ती केवल चिन्ह, प्रतिक वा स्वरूपहरूमात्र थिए जसले मानिसको जीवनको निर्वाह गर्नकोमात्र होइन मुक्तिलाई पनि औँल्याउन परमेश्‍वरले उपलब्ध गराउनुभएको थियो।

परमेश्‍वरको आराधना गर्ने मामिलामा देहायका पदहरू पढ्नुहोस्। ती पदहरूमा कोरिएका नीतिहरू के हुन् र हाम्रो जीवनमा र परमेश्‍वरको आराधना गर्ने मामिलामा ती नितिहरू कसरी प्रयोग गर्ने? हेर्नुहोस्, मिका ६:६-८ “के लिएर म परमप्रभुको सामु आऊँ, र उच्‍च भएका परमेश्‍वरको सामु निहुरूँ? के एक वर्षे बाछाहरू लिएर होमबलि चढ़ाउनलाई म उहाँको सामु आऊँ?  के परमप्रभु हजारौँ भेड़ाहरू र तेलका दश हजार नदीसित प्रसन्‍न हुनुहुन्‍छ र? के म आफ्‍नो अपराधको लागि मेरो जेठो छोरालाई र मेरो प्राणको पापको लागि मेरो शरीरको फललाई चढ़ाऊँ?  ए मानिस, जे असल छ, त्‍यो उहाँले तिमीलाई देखाउनुभएको छ। र परमप्रभुले तिमीबाट के चाहनुहुन्‍छ? केवल यति, ठीकसित काम गर्नू र कृपालाई प्रेम गर्नू र तिम्रा परमेश्‍वरसित विनम्र भएर हिँड्‌नू।” र यशैया १:१०-१७ “हे सदोमका शासकहरू हो, परमप्रभुको वचन सुन! हे गमोराका मानिस हो, हाम्रा परमेश्‍वरको कानून ध्‍यान दिएर सुन! परमप्रभु भन्‍नुहुन्‍छ, “तिमीहरूका बलिदानहरूको थुप्रो मेरो निम्‍ति के काम लाग्‍छ? म त भेड़ाहरूका होमबलि र पालेका मोटा पशुहरूका बोसोका होमबलिदेखि अघाएको छु। साँढ़े, थुमा र बोकाहरूको रगतदेखि म प्रसन्‍न हुन्‍नँ। जब तिमीहरू मसँग भेट्‌नलाई आउँछौ, तिमीहरूले चढ़ाएका यी थोकहरू कसले चाहन्‍छ र? मेरा आँगनहरू खुट्टाले कुल्‍चीमिल्‍ची गर्न कसले तिमीहरूलाई भनेको छ र?  व्‍यर्थका बलिहरू नल्‍याओ। तिमीहरूको धूप त मेरो निम्‍ति घिनलाग्‍दो छ। औंसी, शबाथ, र सभाहरूका साथसाथै तिमीहरूका दुष्‍ट जमघटहरू म सहन सक्‍दिनँ। तिमीहरूका औंसीका दिनहरू र ठहराएका चाड़हरूलाई मेरो हृदयले घृणा गर्छ। ती त मेरो निम्‍ति भार भएका छन्‌। ती बोक्‍दा-बोक्‍दा म थाकेको छु। तिमीहरूले प्रार्थनामा आफ्‍ना हात पसार्दा, म मेरा आँखा तिमीहरूदेखि छोप्‍नेछु। तिमीहरूले ज्‍यादै प्रार्थना गर्दा पनि म सुन्‍नेछैनँ। तिमीहरूका हात रगतले भरिएका छन्‌। आफूलाई धोएर चोखो पार। मेरो नजरबाट तिमीहरूका दुष्‍ट कामहरू फालिदेओ! खराबी गर्न छोड़। भलाइ गर्न सिक! न्‍याय खोज, अत्‍याचारमा परेकाहरूलाई प्रोत्‍साहन देओ, टुहुरा-टुहुरीको रक्षा गर, विधवाको पक्षमा बोलिदेओ।”

मंगलबार

अप्रिल १२

अपराध

कुन प्रकिया अपनाउँदा कयिनले आफ्नो भाइ हाबेललाई मार्न अग्रसर भयो? हेर्नुहोस्, उत्पत्ति ४:३-८ “केही समय बितेपछि कयिनले परमप्रभुकहाँ भूमिको उब्‍जनीबाट केही ल्‍याए। तर हाबिलले आफ्‍ना भेड़ाको बगालबाट पहिले जन्‍मेका पाठाहरूका बोसे भाग ल्‍याए। परमप्रभुले हाबिल र तिनको भेटी ग्रहण गर्नुभयो, तर कयिन र तिनको भेटी ग्रहण गर्नुभएन। यसैले कयिन ज्‍यादै रिसाए, र तिनको मुख अँध्‍यारो भयो। तब परमप्रभुले कयिनलाई भन्‍नुभयो, “तिमी किन रिसाएको? तिम्रो मुख किन अँध्‍यारो छ? ७ यदि तिमीले जे ठीक छ त्‍यो गर्‍यौ भने तिमी ग्रहणयोग्‍य हुँदैनौ र? तर यदि तिमीले ठीक काम गरिनौ भनेता पाप तिम्रै ढोकैमा ढुकिबस्‍छ। त्‍यसको इच्‍छा तिमीप्रति हुन्‍छ, तर तिमीले त्‍यसलाई अधीन राख्‍नैपर्छ।”, कयिनले आफ्‍ना भाइ हाबिललाई भने, “आऊ, हामी बाहिर खेतमा जाऔं।अनि जब तिनीहरू खेतमा थिए तब कयिनले आफ्‍ना भाइ हाबिलमाथि आक्रमण गरेर तिनलाई मारे।” र  १ यूहन्ना ३:१२ पनि “कयिनजस्‍तो नहोओ, जो सैतानको थियो। उसले आफ्‍नो भाइको हत्‍या गर्‍यो। उसले आफ्‍नो भाइको हत्‍या किन गर्‍यो? किनकि उसका आफ्‍ना कामहरू दुष्‍ट थिए, अनि उसको भाइका कामहरूचाहिँ धार्मिक थिए।”

जब कयिनको भेटीमा परमेश्‍वरबाट आगो वर्षाउनुभएन र उहाँले उसको भेटीलाई ग्रहण गर्नुभएन तब कयिनको प्रतिक्रिया दुई थरि भए: कयिन धेरै रिसायो, र उसको अनुहार अँध्यारो वा उदासिन भयो (उत्पत्ति ४:५)। कयिनको रिस परमेश्‍वरमाथि र आफ्नो भाइमाथि लक्षित गरिएको देखिएको थियो। आफूलाई अन्याय गरेको वा अन्यायको शिकार भएको सोचेर कयिन परमेश्‍वरसँग रिसाएको थियो भने आफ्नो भाइ हाबेललाई डाहा गर्दा त्यस डाहाले उसको दिमागमा रिस उब्जेको थियो। केको डाहा गरे त? भेटीको निम्तिमात्र हो र? तर हामीले यस अंशलाई केलाएर हेर्‍यौँ भने हाबेलमाथि उसको डाहा केवल भेटीको कारणलेमात्र होइन भनेर हामी सिक्न सक्दछौँ। तर जे भएतापनि, आफ्नो भेटीलाई परमेश्‍वरले ग्रहण नगर्नुभएकोले कयिन उदासिन भयो र रिसले जुर्मुर्‍यायो।

जब उत्पत्ति ४:६मा परमेश्‍वरले कयिनलाई दुईवटा प्रश्‍नहरू गर्नुभयो तब त्यहाँ दुईवटा सर्तहरू थिए जुन कयिनसँग सम्बधित थियो। कयिनलाई परमेश्‍वरले तुरन्तै दोष लगाउनुभएन। यो पनि सोचनीय छ। आदमलाई पनि परमेश्‍वरले प्रश्‍न सोध्नुभएको थियो। आदमले के गरे सो उहाँलाई थाहा नभएकोले उनलाई परमेश्‍वरले प्रश्‍न गर्नुभएको थिएन। त्यसै गरेर कयिनले के गर्‍यो सो परमेश्‍वरलाई थाहा थियो। तर, कयिनले आफ्नो गल्तीलाई देखोस् आफ्नो अनुहार किन अँध्यारो भयो र ऊ आफैले थाहा पाओस् वा महसुस गरुन् आफू किन रिसायो। परमेश्‍वरसितको सम्बन्धमा असफल भएतापनि वा उहाँको विद्रोह गरेतापनि उहाँ जहिले पनि पतित मानिसहरूलाई उद्धार गर्न प्रयत्‍नसील हुनुहुन्छ। ती प्रश्‍नहरू कयिनलाई सोध्नुभएपछि परमेश्‍वरले उसलाई सल्लाह दिनुहुन्छ।

पहिलोत: परमेश्‍वरले कयिनलाई “असल गर वा ठिक गर”, “असल, ठिक, उचित आचरणमा हिँड” भनेर आग्रह गर्नुहुन्छ। यस प्रश्‍नले कयिनलाई पश्‍चाताप गर्न अवसर मिलेको थियो र आफ्नो मनस्थिति परिवर्तन गर्न आह्वान गरिएको थियो वा अवसर प्रदान गरिएको थियो। उत्तिनैखेरि परमेश्‍वरले कयिनलाई प्रतिज्ञा गर्नुभएको थियो यदि कयिनले ठिक गर्‍यो र पश्‍चाताप गर्‍योभने उसको भेटीलाई ग्रहण गर्नुहुन्थ्यो र उसलाई क्षमा दिइन्थ्यो। यथार्थमा यहाँ के भन्न खोजिएको थियो भने, परमेश्‍वरले कयिनलाई यो भन्न चाहनुभएको थियो कि उहाँले उसलाई ग्रहण गर्नुहुनेछ, उसको अपराधलाई क्षमा दिनुहुनेछ, तर त्यो उसको सर्तमा होइन परमेश्‍वरका सर्तहरूमा।

तर यदि, “तिमीले ठिक वा असल गरेनौभने पाप उसको ढोकैमा कुरेर बसेको हुन्छ। पापको इच्छा हो कि तिमीलाई त्यसको पकडमा राख्‍नु, तर तिमीले पापलाई काबुमा राख्‍नैपर्छ वा पापले तिमीलाई रजाइ गर्न अवसर नदेऊ” (उत्पत्ति ४:७ रूपान्तरित)। जुब भावना परमेश्‍वरले व्यक्त गर्नुभयो वा कयिनलाई सल्लाह दिनुभयो त्यसले पापको जरा कहाँ रहेछ भनेर देखाएको थियो। त्यो जरा कयिन आफैमा थियो। यहाँ पनि, कयिनको नियतलाई परमेश्‍वरले खुलाउनुभएपछि त्यसबाट फर्किएर कुन बाटोमा लाग्नुपर्ने हो सो उहाँले उसलाई अर्ती दिइरहनुभएको थियो।

कयिनलाई परमेश्‍वरले दिनुभएको दोस्रो सल्लाहमा पापप्रतिको मनस्थिति कस्तो हुनुपर्छ भनेर उहाँले बुझाउन खोज्नुभएको थियो। “पाप तिम्रै ढोकामा छ, तिमीलाई नियन्त्रण गर्ने पापको चाहना हो” भनेर पापको नियतलाई परमेश्‍वरले खोलेर देखाउनुभएको थियो। परमेश्‍वरले कयिनलाई आत्मनियन्त्रण गर वा पापलाई नियन्त्रण गर भनेर प्रोत्साहन गर्नुभएको थियो, अर्थात् पाप त आउँछ नै तर “तिमीले त्यसलाई आफ्नो बसमा राख्‍नुपर्दछ, उसले तिमीलाई होइन।” यही नीति याकूबले पनि बुझाउन खोज्छन्, उनले व्याख्या गर्छन् “तर हरेक मानिस आफ्‍नै खराब इच्‍छाद्वारा लोभिएर परीक्षामा पर्दछ। तब खराब इच्‍छाले गर्भधारण गरेपछि त्‍यसले पाप जन्‍माउँछ। अनि पाप पूरै बढ़ेपछि त्‍यसले मृत्‍यु ल्‍याउँछ” (याकूब १:१४-१५)। सुसमाचारको विशेषता भनेकै पापबाट हामी क्षमा पाउनेमात्र होइन, पापमाथि रजाइ गर्न हामीलाई शक्तिसम्पन्न गराउँदछ। यस मामिलामा पावलले यसरी ठोकुवा गर्दछन् “मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ। उहाँले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर परीक्षाको साथसाथै उम्‍कने बाटो पनि बनाइदिनुहुनेछ– यसरी तिमीहरू त्‍यसलाई खप्‍न सक्‍नेछौ” (१ कोरिन्थी १०:१३)। अन्तमा आएर, आफ्नो रिस, डाहा र अँध्यारो अनुहारको निम्ति दोष दिनुपर्ने कोही नभएर ऊ आफै हो। यो कुरा के कयिनलाईमात्र लागु हुन्छ र, प्रायजसो हामीलाई पनि होइन र?

यस कहाली लाग्दो कथाले हामी सबैलाई आत्मनिर्णय, स्वविवेकको स्वतन्त्रताको बारेमा के सिकाउँछ? परमेश्‍वर आफैले मानिसको आत्मनिर्णय वा स्वविवेक, चेतनाको स्वतन्त्रतालाई जबरजस्ती लाड्नुहुन्न भन्ने कुरो कयिनको कथाले हामीलाई सिकाउँदैन र? (कसैले कसैको जबरजस्ती धर्म परिवर्तन गर्‍यो भन्ने लान्छना कस्तो सरासर झुठो आरोप रहेछ भन्ने कुरो के कयिनको मामिलाले हामीलाई सिकाउँदैन र?-अनुवादक)।

बुधबार

अप्रिल १३

कयिनमाथि तोकिएको सजायँ

उत्पत्ति ४:९-१६ पढ्नुहोस्। परमेश्‍वरले कयिनलाई “तिम्रो भाइ कहाँ छ” भनेर सोध्नुभयो? कयिनको पाप र ऊ बेचैन भगुवा वा डुलुवा हुनुपर्नेकोबीचमा के सम्बन्ध छ? हेर्नुहोस्, “तब परमप्रभुले कयिनलाई सोध्‍नुभयो, “तिम्रो भाइ हाबिल कहाँ छ?” तिनले भने, “मलाई थाहा छैन। के म मेरो भाइको गोठाला हुँ र?”  परमप्रभुले भन्‍नुभयो, “यो तिमीले के गर्‍यौ? तिम्रो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेछ। तिमी अब श्रापित भएर यस भूमिबाट खेदिएको छौ, जसले तिम्रो भाइको रगत तिम्रो हातबाट लिनलाई आफ्‍नो मुख उघार्‍यो। तिमीले भूमिको खेती गर्दा अब उप्रान्‍त त्‍यसले तिमीलाई आफ्‍नो उब्‍जनी दिनेछैन। तिमी पृथ्‍वीमा एक विनाचैनको डुलुवा हुनेछस्‌।कयिनले परमप्रभुलाई भने, “मैले सहनै नसक्‍ने कड़ा दण्‍ड मलाई भयो। हेर्नुहोस्‌, आज तपाईंले मलाई यस भूमिबाट निकालिदिनुहुन्‍छ, र तपाईंको उपस्‍थितिबाट मैले लुक्‍नुपर्नेछ। म पृथ्‍वीमा विनाचैनको डुलुवा हुनेछु, र मलाई फेला पार्ने जोसुकैले पनि मलाई मार्नेछ।”  तर परमप्रभुले तिनलाई भन्‍नुभयो, “त्‍यसो होइन, जसले कयिनलाई मार्छ त्‍यससित सात गुणा बदला लिइनेछ।अनि कयिनलाई कसैले फेला पारेर नमारोस्‌ भनी परमप्रभुले तिनीमाथि एउटा चिन्‍ह लगाइदिनुभयो। तब कयिन परमप्रभुको उपस्‍थितिबाट निस्‍केर अदनको पूर्वपट्टि भएको नोद भन्‍ने देशमा बस्‍न लागे।” 

परमेश्‍वरले कयिनलाई सोध्नुभएको प्रश्‍न अदनको बगैँचा आदमलाई सोध्नुभएको जस्तै हो: “तिमी कहाँ छौ?” अदनको बगैँचामा भएको पाप र अहिलेको पापसँग कस्तो गाँठो सम्बन्ध रहेछ भनेर त्यस प्रश्‍नले जनाउँदछ: कयिनको पाप आदमको पापको नतिजा थियो। कयिनले आफ्नो पापको महसुस गर्दैन बरु सरासर अस्वीकार गर्दछ। आफ्नो पाप हव्वामाथि थुपारेतापनि आदमलेचाहिँ आफ्नो पापको स्वीकार गरेका थिए। त्यसको बिपरित कयिनले आफ्नो पापलाई स्वीकार नगरेर परमेश्‍वरलाई खुलेआम चुनौति दिन्छ। परमेश्‍वरले आफ्नो समयलाई बरबाद नगरि कयिनको अपराधको भन्डाफोर गर्नुहुन्छ। परमेश्‍वरले कयिनलाई तेस्रो प्रश्‍न गर्नुहुन्छ, “तिमीले यो के गर्‍यौ?” तर कयिनबाट त्यसको जवाफको निम्ति उहाँ पर्खिनुहुन्न। आफूलाई सबै कुरो थाहा छ भनेर उहाँले कयिनलाई याद दिलाउनुहुन्छ। हाबेलको रगतको चित्कार जमिनबाट परमेश्‍वरकहाँ पुगेको थियो (उत्पत्ति ४:१०)। हत्याको बारेमा परमेश्‍वरलाई थाहा छ र त्यसको जवाफ उहाँले के दिनुहुन्छ भन्ने कुरो यसले चित्रण गर्दछ। हाबेल जमिनमा छ।  आदमको पतनसँग र फल खायो भने के हुनेछ भनेर परमेश्‍वरले भन्नुभएको वचनसँग (उत्पत्ति ३:१९) हाबेलको अवस्थाले स्पष्ट पार्दछ।

“म तपाईँको अनुहारबाट लुकिनेछु” भन्ने कयिनका शब्दहरू किन अर्थपूर्ण मान्नुपर्दछ? हेर्नुहोस्, उत्पत्ति ४:१४ “हेर्नुहोस्‌, आज तपाईंले मलाई यस भूमिबाट निकालिदिनुहुन्‍छ, र तपाईंको उपस्‍थितिबाट मैले लुक्‍नुपर्नेछ। म पृथ्‍वीमा विनाचैनको डुलुवा हुनेछु, र मलाई फेला पार्ने जोसुकैले पनि मलाई मार्नेछ।” 

 हावेलको रगत भूमिमा खन्याइएको हुनाले जमिन फेरि श्रापित भयो (उत्पत्ति ४:१२)। त्यसको फलस्वरूप कयिन अपराधी भयो र यस पृथ्वीमा शरणार्थी जीवन बिताउनुपर्‍यो, त्योमात्र नभए कयिन अब परमेश्‍वरबाट टाढा हुन पुग्यो। जब आफूमाथि दण्डको आज्ञा परमेश्‍वरले उच्चारण गर्नुभयो तबमात्र उसले उहाँको उपस्थितिको महत्त्वपूर्णतालाई स्वीकार्‍यो; परमेश्‍वरबिना, आफ्नै जीवन खतरामा परेको त्रसित हुनुपरेको कयिनले महसुस गरेको थियो। आफ्नो भाइको निर्मम हत्या गरेतापनि परमेश्‍वरलाई खुलेआम चुनौति दिएतापनि परमेश्‍वरले अझै पनि उसलाई दया वा सदाशयता देखाउनुभएको थियो। परमेश्‍वरको उपस्थितबाट कयिन टाढा भएतापनि (उत्पत्ति ४:१६), उहाँले उसलाई कुनै न कुनै किसिमको सुरक्षा उपलब्ध गराउनुभएको थियो। त्यो “चिन्ह वा छाप” ठ्याक्‍कै के हो (उत्पत्ति ४:१५) हामीलाई बताइएको छैन। परमेश्‍वरले कयिनलाई अनुग्रह देखाउनुभएको कारणले नै त्यो चिन्ह चाहेजेसुकै होस्, उसलाई लगाइ दिएको थियो।

“तपाईँको अनुहारबाट म लुकिनेछु” (उत्पत्ति ४:१४) भन्नुको अर्थ के हो? परमेश्‍वरको मुहारबाट के लुकिएको छ? मानव प्राणीको निम्ति यो कस्तो वियोगात्मक स्थितिको उच्चारण हो? यो परिस्थितिमा हामी पापीहरू नरहन केमात्र उपाय छ?

बिहीबार

अप्रिल १४

मानिसको दुष्टताको उत्पात

मानव दिमागमा कयिनले छोडेर गएको सम्पदा के हो? कयिनले सुरु गरेको अपराधिक प्रवृत्तिले मानव इतिहासमा हुन भर्न गएको दुष्टताको सभ्यताको निम्ति ढोका कसरी खोलियो र मानव स्वभावमा भयाभव मनोबृत्ति कसरी बढियो? हेर्नुहोस्, उत्पत्ति ४:१७-२४ “आफ्‍नी पत्‍नीसित कयिनको सहवास भयो, र गर्भवती भएर तिनले हनोकलाई जन्‍माइन्‌। कयिनले एउटा सहर बनाएर आफ्‍नो छोराकै नाउँमा त्‍यस सहरको नाउँ पनि हनोक राखे। हनोकबाट ईरादको जन्‍म भयो। ईरादबाट महूयाएलको जन्‍म भयो। महूयाएलबाट मतूशाएलको जन्‍म भयो। मतूशाएलबाट लेमेखको जन्‍म भयो। लेमेखले दुई वटा पत्‍नी ल्‍याए। एउटीको नाउँ आदा र अर्कीको सिल्‍ला थियो। आदाले याबाललाई जन्‍माइन्‌। तिनी पालमा बस्‍नेहरू र पशु पाल्‍नेहरूका पुर्खा थिए। तिनका भाइको नाउँ यूबाल हो। तिनीचाहिँ वीणा र बाँसुरी बजाउनेहरू सबैका पुर्खा थिए। सिल्‍लाले तूबल-कयिनलाई जन्‍माइन्‌। तिनी सबै किसिमका काँसो र फलामका हतियारहरू बनाउँथे। तूबल-कयिनकी बहिनी नामा थिइन्‌। लेमेखले आफ्‍ना पत्‍नीहरूलाई भने, “ए आदा र सिल्‍ला, मेरा कुरा सुन, ए लेमेखका पत्‍नी हो, मैले भनेका कुरामा ध्‍यान दिएर सुन,  किनभने मलाई चोट लाउने मानिसलाई मैले मारेको छु,  मलाई घाइते बनाउने जवान मानिसलाई। यदि कयिनको बदला सात गुणा लिइन्‍छ भने, लेमेखको चाहिँ सतहत्तर गुणा लिइनेछ।” 

कयिनको चौथोपुस्ते नाती लेमेखले आफ्नो अपराधलाई पुष्टि गर्न कयिनको अपराधलाई सम्बोधन गर्छ। कयिनको अपराध र लेमेखको अपराधको  बारेमा सोच्नु शिक्षाप्रद हो। आफूले गरेको अपराधको बारेमा कयिन चुपचाप भएको देखिन्थ्यो भने लेमेखले आफ्नो अपराधलाई खुलारूपमा गौरब गरेर गीतबाट नै व्यक्त गर्दछ (उत्पत्ति ४:२३,२४)। कयिनले परमेश्‍वरसँग दयाको भिष माग्छ भने लेमेखले परमेश्‍वरसँग पुकार गरेको लेखिएको छैन। बरू आफ्नो अपराधमा लेमेखले आफूले आफूलाई नै श्यावास दिएको जस्तो देखाउँछ। आफ्नो अपराधको फुर्ती उसले देखाउँदछ। कयिनलाई परमेश्‍वरले सातगुणा बदला लिनुभयो भने, “ए, म त के कम छु र? म सत्तरी गुणा बदला लिन्छु” भन्ने लेमेखले हुँकार गर्दछ (उत्पत्ति ४:२४)। लेमेखलाई आफ्नो अपराधको बारेमा राम्रैसँग थाहा थियो बरू त्यसप्रति आफू दु:खित भएको आभास् उसले दिएको छैन। लेमेखको अपराध पनि हत्या नै थियो (जुन अहिलेको सभ्यतामा संस्कार नै भएको छ। त्यो हत्या चाहे भौतिक कार्यवाही गरेर होस् वा अरूहरूप्रति रिस, ईवी, क्रोध, डाह आदि देखाएर होस् किनकि येशूको बोलीमा रिस पनि हत्या नै हो भनेर उच्चारण गर्नुभएको थियो भने रिसले पाप तथा हत्या निम्त्याँउछ भनेर परमेश्‍वरले कयिनलाई भन्नुभएको थियो-अनुवादक)।

कयिनको एउटामात्र पत्‍नी थियो भने (उत्पत्ति ४:१७), लेमेखले बहुबिवाह वा बहुपत्‍नीको संस्कारलाई चिनाइदिएको थियो। आफ्नो निम्ति दुई पत्‍नीहरू उसले ल्यायो भनेर बाइबलमा खुलेरै लेखिएको छ (उत्पत्ति ४:१९)। आउने कनानीहरूको पुस्तालाई यो बहुविवाह चलन अत्यधिकमात्रामा चल्न प्रभावित पार्नु र त्यसलाई समाजबाटै मान्यता हुने चलन लेमेखको कदमले अग्रसर गराएको थियो।

कयिन वा कनानी अर्थात् कयिनका सन्तानहरूको परिवारमा भएको दुष्ट श्रृङ्खला पछि बाइबलले अर्को नयाँ घट्नाको लेखा राखिएको छ जुन कनानी प्रवृत्तिको बिपरित थियो। किङ्ग जेम्सको स्पष्ट अनुवादमा “आदमले आफ्नी श्रीमतीलाई चिने वा थाहा पाए” (उत्पत्ति ४:२५) लेखिएको छ भने अरू अनुवादहरूमा सहवास गरे भनेर लेखिएको छ। त्यसको फलस्वरूप, हव्वाले सेथलाई जन्माइन्। अर्थात परमेश्‍वरले हाबेलको ठाउँमा “अर्को सन्तान” दिनुभएको थियो भनेर आभास् दिन्छ।

हाबेलको इतिहासपछि सेथको इतिहास सुरु हुनु महत्त्वपूर्ण मान्नुपर्छ। सेथ भन्ने शब्द हिब्रू भाषाको क्रियापद ‘ashit आशित’बाट आएको हो। त्यसको अर्थ “म राख्‍नेछु” (उत्पत्ति ३:१५) हो। यही शब्दमा मसीहको भविष्यवाणी खोलाइएको थियो। मसीह आउने सन्तानको भविष्यवाणी सेथकै बंश पूरा हुने थियो। सेथबाट सुरुभएको मसीह आउने भविष्यवाणी (उत्पत्ति ५:३), सेथपछि हनोक (उत्पत्ति ५:२४), अनि मेथुशला, अनि नोहामा आएर अन्त भएको थियो (उत्पत्ति ६:८)।

“परमेश्‍वरका छोराहरू” (उत्पत्ति ६:२) भन्ने वाक्य सेथको सन्तानलाई सम्बोधन गरिएको हो। ती सन्तानले नै परमेश्‍वरको स्वरूप वा प्रतिरूप सुरक्षित राख्‍न अपेक्षा गरिएको थियो (उत्पत्ति ५:१,४)। तर, “मानिसका छोरीहरू” (उत्पत्ति ६:१) भनेर सम्बोधन गर्दा त्यसमा नकारात्मक अर्थ जोडिएको देखाउँछ। त्यसले परमेश्‍वरको स्वरूप भएको सन्तानको विपरित मानिसको स्वरूप भएको सन्तान भएको देखाउँछ। ती “मानिसहरूका छोरीहरूबाट” परमेश्‍वरका छोराहरूले “आफूले मनपराएकाहरूलाई पत्‍नी बनाए” (उत्पत्ति ६:२ रूपान्तरित) भनेर उल्लेख गर्दा मानव जगत गलत दिशातिर लाग्न थालेको देखाउँछ।

पापले ल्याएको भ्रष्टता र क्षतविक्षतको शक्तिशाली वा खुलेरै दिएको प्रभावकारी गवाही उत्पत्ति ६:१-५मा पढ्नुहोस्। हाम्रो जीवनबाट पापबाट बच्न र पापलाई हराउन परमेश्‍वरकै शक्तिलाई कसरी प्रयोग गर्न हरदम प्रयास गर्नुपर्दछ वा गरिरहनुपर्दछ? हेर्नुहोस्, “जब मानिसहरूको संख्‍या पृथ्‍वीमा बढ्‌दैगयो र तिनीहरूका छोरीहरू जन्‍मे, तब परमेश्‍वरका छोराहरूले मानिसका छोरीहरूलाई सुन्‍दरी देखे, र आफ्‍ना-आफ्‍ना रुचिका पत्‍नीहरू ल्‍याए। तब परमप्रभुले भन्‍नुभयो, “मेरो आत्‍माले मानिससँग सधैँ संघर्ष गर्नेछैन, किनभने त्‍यो मरणशील हो। त्‍यसको उमेर एक सय बीस वर्षको हुनेछ।”  त्‍यस बेला र त्‍यसपछि पनि पृथ्‍वीमा नेफिलीमहरू थिए। परमेश्‍वरका छोराहरू मानिसका छोरीहरूकहाँ जान लागे र सन्‍तान जन्‍माए। तिनीहरू नै उहिलेका शूरवीर र नाउँ चलेका मानिसहरू थिए। पृथ्‍वीमा मानिसहरूको दुष्‍टता बढ़ी भएको र तिनीहरूका हृदयका विचारको जुनसुकै पनि भावना निरन्‍तर खराबै मात्र भएको परमप्रभुले देख्‍नुभयो।”

शुक्रबार

अप्रिल १५

थप जानकारी: “हनोक परमेश्‍वरसँग हिँडेको थियो” भनेर दुई पल्ट उल्लेख गरिएको छ (उत्पत्ति ५:२२,२४)। त्यसको अर्थ परमेश्‍वरसँगको सम्बन्धमा उनको घनिष्ठ थियो र उनी दिनदिनै परमेश्‍वरसँग हिँडेका थिए भनेर बुझाउँछ। हनोकको व्यक्तिगत सम्बन्ध परमेश्‍वरसँग यस्तो विशेष थियो कि परमेश्‍वरले उनलाई आफूसँगै लानुभयो (उत्पत्ति ५:२४)। आदमको बंशावलीमा यो वाक्य अत्यन्तै विशेष र अर्थपूर्ण मान्नुपर्दछ। अगाडिका मानिसहरू वा पछिका भक्तजनाहरू जो परमेश्‍वरसँग हिँडेका थिए, चाहे आदम नै किन नहोस् तिनीहरू मरेको लगत्तै स्वर्गमा लगियो भन्ने मानिसहरूको धारणालाई जुन कतिपय इसाईहरूकै किन नहोस्, समर्थन गर्दैन। नोहा पनि त परमेश्‍वरको साथमा हिँडेका थिए (उत्पत्ति ६:९), र उनी अरू मानिससरह मरेपनि। आदम पनि मरे, दिर्घजीवि मेथुशला पनि मरे। फेरि हनोकले विशेष अनुग्रह किन पाए भनेर कारण पनि नखुलाएको कुतुहूलको विषय हो।

             “हनोक धार्मिकताको प्रचारक भएको थिए। परमेश्‍वरले उनलाई जे प्रकट गर्नुभयो सो उनले मानिसहरूलाई देखाएका थिए। जो मानिस परमेश्‍वरको भय मान्दथे तिनीहरू यस पवित्र मानिसलाई खोज्दथे। उनको शिक्षादीक्षा र प्रार्थनाहरूमा ती मानिसहरू तल्लिन हुन्थे। परमेश्‍वरको चेतावनी वचनहरू सुन्न मनपराउनेहरूलाई उनले सार्वजनिकरूपमै प्रचारप्रसार गरेका थिए। उनको परिश्रम केवल सेथका वंशहरूमामात्र सिमित थिएन। परमेश्‍वरको उपस्थितिबाट भाग्न चाहने कयिनको भूमिका मानिसहरूलाई उहाँको अगमवक्ता हनोकले आफूले पाएको अचम्मको दर्शनहरूको बारेमा सिकाउँथे। उनको मामिलामा येशूको चेला यहुदाले यसरी व्यक्त गर्दछन्, “आदमदेखि सातौँ पुस्‍ताका हनोकले पनि यी मानिसहरूका विषयमा यस्‍तो अगमवाणी बोलेका थिए, “हेर, परमप्रभु आफ्‍ना असंख्‍य पवित्र जनहरूसँग आउनुभयो, सबैको इन्‍साफ गर्न, सबै मानिसहरूलाई दण्‍ड दिन, जसले अधार्मिक रीतिले भक्तिहीन कार्यहरू गरेका छन्‌, र ती भक्तिहीन मानिसहरूलाई दण्‍ड दिन जसले उहाँको विरुद्धमा कठोर कुरा बोलेका छन्‌”  (यहूदा १४-१५)।”-एलेन जी ह्वाइट, पाट्रियार्क एण्ड प्रोफेटस्, पृ. ८६बाट रूपान्तरित।

  चिन्तनमनन:

  • कयिनले आफ्नो भाइ हाबेललाई किन मारे? रोमानियामा सन १९२८मा यहूदी घरानामा जन्मिनुभएको र हिटलरको नरसंहारबाट बच्नुभएको र साहित्यमा नोबेल पुरस्कार जित्‍नुभएको एली विजलले त्यसमा मामिलालाई लिएर यसरी व्यक्त गर्दछन्, “कयिनले हावेललाई किन मारे त? सायद कयिन एक्लै रहन चाहेको थियो होला: बाबुआमाको मृत्युपछि कयिन एकलौटी भएर बस्न चाहेको होला। कयिनमात्र एक जना पुरुष भएर बस्न चाहेको होला। परमेश्‍वर जस्तै एक्लो हुन चाहेको थियो होला, अझ परमेश्‍वरको ठाउँमा ऊ रहन चाहेको होला…कयिनले परमेश्‍वर वा भगवान हुन आफ्नो भाइलाई मारेको होला…जो कोही पनि आफू परमेश्‍वरको ठाउँमा लिन चाहन्छ वा आफूलाई भगवान भनेर गौरब मानेर रजाईँ गर्न चाहन्छ, त्यस व्यक्तिले मानिसहरूको आमहत्या गर्न हिचकिचाउँदैन।”-मेसेन्जर अभ गड: बिब्लिकल पोर्ट्रेड एण्ड लिजेन्डस् (न्यु योर्क: रान्डम, १९६७), पृ. ५८ बाट रूपान्तरित)। हामीले भौतिक कार्वाही गरेर कसैको हत्या नगरेपनि कयिनको जस्तो मनस्थितिलाई प्रतिबिम्ब नगर्न हामी कसरी सजग रहने?
  • जलप्रलय हुनुभन्दा अघिका मानिसहरूको आयु (उत्पत्ति ५) र पछिका पूर्वजहरूको आयुसँग तुलना गर्नुहोस्। मानिसको आयु घटेको बारेमा हामी कसरी व्याख्या गर्ने? दार्विनको विकाशवाद सिद्धान्तले मानिसको आयु घटेको बारेमा कसरी व्याख्या गर्छ त?