पाठ १०

फेब्रुअरी 26 - मार्च 4

पर्दा खोल्दै येशूले बाटो खोल्नुहुन्छ

यस अध्यायका मूल पदहरू: हिब्रू ९:२४; प्रस्थान १९:३,४; हिब्रू १२:१८-२१; लेबी १६:१,२; हिब्रू १०:१९-२२; कलस्सी ३:१।

यस अध्यायको मूल सार पद: “ख्रीष्‍ट हातले बनाएको पवित्रस्‍थानभित्र प्रवेश गर्नुभएन, जोचाहिँ साँचो पवित्रस्‍थानको नकल मात्र हो, तर उहाँ स्‍वर्गभित्रै प्रवेश गर्नुभयो, र उहाँ हाम्रो पक्षमा परमेश्‍वरको सामु उपस्‍थित हुनुभएको छ” (हिब्रू ९:२४)।

पुनरुत्थानपछि अन्तिम पटक, जैतुनको पहाडमा भौतिकरूपमा आफ्ना चेलाहरूसँग येशू देखापर्नुभएको थियो र तिनीहरूसँग छलफल गर्नुभएको थियो (प्रेरित १:६-८)। सारा संसारमा तिनीहरू सुसमाचारको गवाही बन्न आदेश दिनुभएपछि तिनीहरूले हेर्दा हेर्दै उहाँ स्वर्गमा उक्लिनुभएको थियो। जब तिनीहरूबाट येशू आकाशमा गायब हुनुभयो तब तिनीहरूमा खुशी, हर्ष, आनन्द र विजयको उल्लासले भरिएको थियो। तिनीहरूको स्वामी, प्रभु र अभिन्न मित्र, स्वर्गमा सारा पृथ्वीमाथि प्रभुत्त्व जमाउन उक्लेर शक्तिसम्पन्न हुनुभएको थियो। येशूले तिनीहरूलाई निडर भएर परमेश्‍वरकहाँ उहाँको नाउँमा उहाँमाथि पूर्ण भरोसा राख्दै आउन आमन्त्रण गर्नुभएको थियो, साथै यदि तिनीहरू उहाँको नाउँमा प्रार्थना गरेर जे मागे पनि उहाँले दिनुहुनेछ भन्ने बाचा (यूहन्ना १४:१३,१४) तिनीहरूको हृदयमा पनि  गुञ्‍जिरहेको थियो।  तिनीहरू संसारमै थिए वा संसारबाट कुनै सुरक्षित स्थानमा भागेका थिएनन् न त कहीँ कुटी बनाएर सबैबाट अलग भएर बसे। तर, तिनीहरू संसारको मानव जगतमै रहेर दुष्टको अनेकौँ वाण वा आक्रमणहरूमा होमिन पुगेतापनि तिनीहरूको आशा दर्‍हो थियो र कुनै पनि भिषण परिस्थितिले तिनीहरूमा भएको त्यो आशालाई हल्लाउन सकेको थिएन। तिनीहरूको निम्ति ठाउँ तयार पार्न (यूहन्ना १४:१-३) येशू स्वर्गमा जानुभएको थियो भन्ने कुरामा तिनीहरू यकिन थिए। तिनीहरूको मुक्तिको अगुवा येशू हुनुहुन्थ्यो भन्ने कुरा तिनीहरूको हृदयमा गाभिएको थियो। स्वर्गिय घरमा उहाँको रगतले तिनीहरूको निम्ति बाटो खुलाउनुभएको थियो।

       स्वर्गमा उक्लिनुभएको येशू, हिब्रू वा येशूभक्तहरूको थियोलोजी वा ईश्‍वरीयज्ञान, अर्थात शिक्षामा प्रमुख स्थान ओगटेको छ। यसले येशूको शासनको सुरुलाई औँल्याउँछ, साथै स्वर्गको पवित्र स्थानमा मूल पुजारीको हैशियतले हाम्रो निम्ति परमेश्‍वरसँग पहल गरिरहनुभएको छ भनेर ठोकुवा गर्दछ। अझ ठोसरूपमा भन्ने हो भने, स्वर्गमा उहाँ उक्लिनुभएको समयमा नयाँ करारको उद्‍घाटन भएको थियो, जसले गर्दा हामीहरूमा भएको येशूप्रतिको आस्था वा विश्‍वासको आधारमा परमेश्‍वर पिताकहाँ सुरो भएर खडा हुनसक्ने प्रावधान उपलब्ध गराइएको छ।

  येशू र उहाँका धार्मिकताका गुणहरूलाई बाजी राखेर दृढतासाथ हामी जोसुकै भएतापनि परमेश्‍वरकहाँ सिद्धै आउनु हाम्रो शुभअवसर हो।

आइतबार

फागुन २७

परमेश्‍वर पिताको सामु येशू

येशू ख्रीष्ट स्वर्गमा उक्लनुको अर्थ के हो भनेर हिब्रू ९:२४मा हामीलाई कसरी खुलस्त गरेको छ? हेर्नुहोस्, “ख्रीष्‍ट हातले बनाएको पवित्रस्‍थानभित्र प्रवेश गर्नुभएन, जोचाहिँ साँचो पवित्रस्‍थानको नकल मात्र हो, तर उहाँ स्‍वर्गभित्रै प्रवेश गर्नुभयो, र उहाँ हाम्रो पक्षमा परमेश्‍वरको सामु उपस्‍थित हुनुभएको छ।”

यरुशलेममा वर्षको तीनपटक इस्राएलका पुरुषहरू प्रभुको सामु उभिन जानु भनेर परमेश्‍वरले इस्राएललाई निर्देशन दिनुभएको थियो। त्यो पनि खालि हातले होइन तर भेटी लिएर जानु पर्दथ्यो। ती तीन निर्देशित समयहरू थिए: निस्तार चाढ वा अखमिरी नहालेको रोटी खाने चाड, हप्‍तौँसम्म लागिरहने कटनीको चाड वा पेन्टिकोस्ट, र छाप्रोबास वा झुपडीको चाड (प्रस्थान २३:१४-१७, व्यवस्था १६:१६)। परमेश्‍वरले इस्राएलीहरूलाई मिश्रदेशबाट उद्धार गर्नुभएको सम्झनामा निस्तार चाड मनाइएको थियो। जो वा अन्नको कटनीको समयमा चाडलाई पेन्टिकोस्टको चाड भनिन्छ। नयाँ करारमा आइपुग्दा परमेश्‍वरले सिनै पहाडमा दिनुभएको विधिविधानको सम्झनामा यो कटनी वा पेन्टिकोस्टको चाड मनाउन थालिएको थियो। मरुभूमिको यात्रामा परमेश्‍वरले इस्राएलीहरूलाई स्याहार गर्नुभएको सम्झनामा झुप्रो वा छाप्रोवासको चाड मनाइन्थ्यो। नयाँ करारको अनुसार, पुरानो करारमा भएका सबै पर्वहरू भविष्यवाणी थिए र तिनीहरू अर्थपूर्ण थिए।

       स्वर्गमा पिताको सम्मुख येशू जानुभएको थियो भनेर हिब्रू ९:२४ले किटान गर्दछ। पृथ्वीबाट उक्लिएर उहाँ स्वर्गको पवित्रस्थानमा पुग्नुभएको थियो। आफ्नो उत्तम बलिद्वारा सत्य र सक्‍कल पवित्रस्थानमा परमेश्‍वरको सामु उभिन पुग्नुभएको थियो (हिब्रू ९:२३,२४), त्यो पनि उहाँले आफ्नै रगतको आधारमा। १३३

       इस्राएलीहरूले आफ्ना यात्राको दौरानमा गरिने धेरै चाडहरू जसले येशूलाई औँल्याइएका थिए, तिनीहरूले औल्याएको उल्लेखनीय भविष्यवाणीहरू सबै अचम्म र ठिकठीक तरिकाले येशूले पूरा गरिदेखाउनुभएको थियो। तयारीको दिनमा अर्थात् शुक्रवार तीन बजेतिर निस्तार चाडमा पुजारीले पाठाहरूलाई बलि दिन ठिक भएका थिए, त्यही बेला येशूको मृत्यु भएको थियो (यूहन्ना १९:१४, मत्ती २७:४५-५०)। तेस्रो दिनमा येशूको पुनरुत्थान भएको थियो र स्वर्गमा उक्लनुभएको थियो। आफ्नो बलि स्वीकार्यभएको निश्‍चयता पाउन उहाँ स्वर्गमा जानुभएको थियो (यूहन्ना २०:१७, १ कोरन्थी १५:२०)। त्यसबेला पुजारीले पाकेको जौको बाला हावामा हल्लाएर फसलका फलहरूको पहिलो फल भनेर देखाइनुपर्दथ्यो (लेबी २३:१०-१२)। अनि, ४० दिनपछि उहाँ सबै चेलाहरूको सामुन्ने स्वर्गमा उक्लिनुभयो र परमेश्‍वरको दाहिने हातपट्टी बस्नुभयो। त्यसबेला उहाँले नयाँ करारको उद्‍घाटन गर्नुभएको थियो, जुन पेन्टिकोस्टको दिन थियो (प्रेरित १,२)।

       पौराणिक इस्राएलले मरुभूमिमा यात्रा गर्नुको उद्देश्य परमेश्‍वरको अनुहारलाई हेर्न वा उहाँको सामु देखा पर्न थियो (भजन ४२:२)। त्यसैगरि, “परमेश्‍वरको अनुहारलाई खोज्नु” भन्ने हिब्रू भाषामा व्यक्त गरिएको अर्थ परमेश्‍वरसँग सहायताको माग गर्नु हो (भजन २७:८, भजन १०५:४)। हिब्रू भाषाको अनुसार यो येशूको स्वर्गमा उक्लनुभएको अर्थ लाग्छ। आफू सिद्ध बलि भएर येशू परमेश्‍वरमा जानुभएको थियो। स्वर्गमा उहाँ उत्रिनुभएकोले पछि पुनरुत्थान भएर परमेश्‍वरको समिपमा पुग्ने भक्तहरूको अग्रज भनेर देखाउँछ (हिब्रू ६:१९:२०)। परमेश्‍वरका भक्तहरूलाई दिइएको यो प्रतिज्ञा उहाँद्वारा वास्तविकरूपमा देखाउनुभएको थियो: “८ विश्‍वासद्वारा अब्राहामले आज्ञापालन गरे, र जाऊ भनेको ठाउँतिर गए, जुन ठाउँ उत्तराधिकारको रूपमा उनले पछि पाउनेथिए, यद्यपि उनी कतातिर गइरहेका थिए, त्‍यो उनलाई थाहा थिएन। ९ विश्‍वासैद्वारा उनी एक परदेशीझैँ प्रतिज्ञाको देशमा इसहाक र याकूबजस्‍तै तम्‍बूहरूमा बसोबास गरे। उनीहरू अब्राहामसँगसँगै उही प्रतिज्ञाका हकदार थिए। १० किनकि उनले एउटा जग भएको सहरको प्रतीक्षा गर्थे, जसलाई बनाउने र निर्माण गर्ने परमेश्‍वर नै हुनुहुन्‍छ।…१३ प्रतिज्ञा गरिएको कुरा प्राप्‍त नगरी यिनीहरू सबै विश्‍वासैमा मरे, तर टाढ़ैबाट त्‍यसलाई देखेर स्‍वागत गरी तिनीहरूले मानिलिए, कि तिनीहरू यस पृथ्‍वीमा परदेशी र प्रवासी थिए। १४ यस्‍ता कुरा भन्‍ने मानिसहरूले आफ्‍नो निम्‍ति एउटा देश खोजिरहेका छन्‌ भन्‍ने कुरा प्रष्‍ट हुन्‍छ। १५ जुन देशबाट तिनीहरू निस्‍केर गएका थिए, यदि तिनीहरूले त्‍यही देशको विषयमा सोचेका भए तिनीहरूलाई फर्किजाने मौका मिल्‍ने थियो। १६ तर तिनीहरू अझ उत्तम देश, अर्थात्‌ एक स्‍वर्गीय देशको इच्‍छा गर्छन्‌। यसैकारण परमेश्‍वर तिनीहरूका परमेश्‍वर भनी पुकारिनु शर्माउनुहुन्‍न, किनभने उहाँले तिनीहरूका निम्‍ति एउटा सहर तयार पारिदिनुभएको छ” (हिब्रू ११:८-१०, १३-१६)। अर्थात परमेश्‍वरका भक्तहरू उहाँले नै निर्माण गर्नुभएको उत्तम सहरमा जाने प्रतिज्ञा येशूले पूरा गर्नुभएको थियो।

यस सन्दर्भमा, येशूले हाम्रो निम्ति क्रूसमा के गर्नुभयो त्यसलेमात्र होइन, अहिले पनि के गरिरहनुभएको छ, त्यसले हाम्रो मुक्ति सुरक्षित छ भनेर कसरी देखाउँछ?

सोमबार

फागुन २८

परमेश्‍वरको आमन्त्रण

सिनै पहाडको फेदीमा इस्राएलीहरूको अनुभव के थियो? हेर्नुहोस्, हिब्रू १२:१८-२१ “१८ तिमीहरू एउटा छुन सकिने पर्वतमा आएका छैनौ, र तिमीहरू प्रचण्‍ड अग्‍नि, कालो बादल, घोर अन्‍धकार अथवा आँधीको नजिक पनि आएका छैनौ। १९ तुरहीको ठूलो आवाजको समीप, र एउटा सोरको छेउ पनि तिमीहरू आएका छैनौ, जसका शब्‍द सुन्‍नेहरूले “अब अरू बढ़ी एक वचन पनि नबोलिओस्‌” भनी बिन्‍ती गरे। २० किनभने “यदि कुनै जनावरले त्‍यो पर्वत छोए, त्‍यसलाई ढुङ्गाले हानेर मार्नू” भन्‍ने आज्ञा तिनीहरूले सहन सकेनन्‌। २१ र त्‍यहाँको दृश्‍य यस्‍तो भयानक थियो, कि मोशाले पनि “म डरले काम्‍दछु” भनेका थिए।” 

जब परमेश्‍वरले इस्राएलीहरूलाई मिश्र देशबाट उद्धार गरेर ल्याउनुभयो, तब तिनीहरूको निम्ति उहाँको ठूलो योजना थियो। तिनीहरूसँग व्यक्तिगत र घनिष्ठ सम्बन्ध राखेर उहाँको विशेष निजी प्रजा सृजना गर्ने उहाँको योजना थियो। उहाँले योजना यसरी व्यक्त गरिएको छ, ” ३ तब मोशा परमेश्‍वरकहाँ गए र परमप्रभुले तिनलाई पर्वतबाट भन्‍नुभयो, “याकूबका घराना र इस्राएलीहरूलाई तिभीले यसो भन्‍नू: ४ हेर, ‘मैले मिश्रीहरूलाई के गरें, र तिमीहरूलाई कसरी गरुडका पखेटामा झैँ बोकेर मकहाँ ल्‍याएँ, सो तिमीहरूले देखेका छौ। ५ अब यदि तिमीहरूले मेरा कुरा साँच्‍चै नै सुन्‍यौ र मेरो करार पालन गर्‍यौ भने, समस्‍त जातिहरूमध्‍ये तिमीहरूचाहिँ मेरो बहुमूल्‍य निज धन हुनेछौ। सारा पृथ्‍वी मेरै भए तापनि ६ तिमीहरू मेरो निम्‍ति पूजाहारीहरूको एक राज्‍य र एक पवित्र जाति हुनेछौ’। इस्राएलीहरूलाई तिमीले भन्‍नुपर्ने कुरा यी नै हुन्‌” (  प्रस्थान १९:३-६)।

       यसरी, परमेश्‍वरले मोशाद्वारा उहाँसँग भेट्नको लागि तयार हुन आवश्यक निर्देशनहरू इस्राएलीहरूलाई दिनुभएको थियो। प्रथमत:, मानिसहरू आफै परमेश्‍वरप्रति समर्पित हुन आवश्यक थियो (प्रस्थान १९:१०-१५)। यदि कोही तयार नभइकन सिनै पहाडको फेदीमा गयो भने त्यो व्यक्ति मरिन्थ्यो। यद्यपि, जब तिनीहरू दुई दिन लगाएर आफूहरूलाई तयार गरियो भने, तेस्रो दिनमा जब तुरहीको आवाज लामो समयसम्म फुकिन्थ्यो तब तिनीहरू पहाडतिर लाग्ने निर्देशन परमेश्‍वरले दिनुभएको थियो (प्रस्थान १९:१३)। जब मोशा र इस्राएलीहरूको अगुवाहरू पहाडमा गएका थिए, त्यहाँ तिनीहरूले परमेश्‍वरलाई देखेका थिए, तिनीहरू उहाँकै उपस्थितिमा खाएका र पिएका थिए (प्रस्थान २४:९-११)। इस्राएली जनहरू पनि त्यही खालको अनुभव गर्न सकुन् भन्ने परमेश्‍वरको चाहना थियो। पछि परमेश्‍वरको महिमा देख्‍न र मानिसहरूसँग उहाँ बोल्न सम्भव भएको थियो र अझै जिउन सकेकै थियो भन्ने मानिसहरूले महसुस गरेका थिए (व्यवस्था ५:२४)। तर जब समय आयो तब तिनीहरूमा विश्‍वासको कमी भएको देखिएको थियो। धेरै वर्षपछि मोशाले तिनीहरूलाई यो सुनाएको थियो, “५ (त्‍यस बेला म नै परमप्रभु र तिमीहरूका बीचमा भएर परमप्रभुका वचन तिमीहरूलाई जनाउन खड़ा भएँ, किनकि तिमीहरू अग्‍निको कारण डराएका थियौ, र पर्वतमा उक्‍लेनौ” (व्यवस्था ५:५)। बरू, तिनीहरूको निम्ति पहल गर्न तिनीहरूले मोशासँग अनुरोध गरेका थिए (व्यवस्था ५:२५-२७ साथै प्रस्थान २०:१८-२१)।

       जब परमेश्‍वरको पवित्रता र महिमा सिनै पहाडमा प्रकट भएको थियो, तब परमेश्‍वरको भय मान्न वा उहाँप्रति श्रद्धा देखाउन मानिसहरूलाई सिकाइएको थियो। परमेश्‍वरप्रति भय वा हाम्रो जीवनमा हरदम उहाँको उपस्थितिको अनुभवले हामीलाई जीवन, बुद्धिज्ञान, आत्मज्ञान, आफूले आफूलाई र अरूहरूलाई कदर गर्न अगुवाइ गरिन्छ (व्यवस्था ४:१०, भजन १११:१०, हितोपदेश १:७, हितोपदेश ९:१०, हितोपदेश १०:२७)। फेरि, हाम्रो जीवनमा उहाँको उपस्थितिको अनुभव गर्नुभनेकै उहाँ दयालु, सदाशयी, अनुग्रही र प्रेमिलो हुनुहुन्छ भनेर हामी सिक्दछौँ (प्रस्थान ३४:४-८)।

       यसरी, इस्राएलीहरू आफ्नो समिपमा आउन परमेश्‍वरले चाहनुभएको थियो, तर मानिसहरू उहाँसँग तर्सिए र तिनीहरूको निम्ति पहल गर्न मोशालाई तिनीहरूले अनुरोध गरेका थिए। सिनै पहाड र त्यसपछि हिब्रूहरूको विभिन्न अनुभवहरूलाई ख्यालमा राखेर मोशाले तिनीहरूलाई यी कुराहरू स्मरण गराएका थिए: तिनीहरूमा विश्‍वासको कमी, तिनीहरू परमेश्‍वरलाई विश्‍वासघात गरेर सुनको बाच्छोलाई पुज्न गएको र तिनीहरूको पापले गर्दा परमेश्‍वरसँग भेटघाट गर्न तिनीहरू डर मानेका (व्यवस्था ९:१९)। जुन रूपमा मानिसहरूले प्रतिक्रिया देखाए त्यो तिनीहरूको निम्ति परमेश्‍वरको योजना थिएन; तर तिनीहरूकै विश्‍वासघातको कारण परमेश्‍वरसँग नकारात्मक सम्बन्ध हुन गएको थियो।

प्रभु येशूको कारण पवित्र परमेश्‍वरको सामु आउन हामी किन डराउनुहुन्न? तर, के के सर्तहरू छन् जसले गर्दा उहाँको समिपमा निडर भएर नजिक आउन सक्छौँ?

मंगलबार

मार्च १

पर्दाको आवश्यकता

पर्दाको दुई काम छ। हिब्रू भाषामा प्रयोग गरिएको पर्दा वा घुम्टो केटरपेट्सामा katepetasma चोक वा प्राङ्गनमा भएको पर्दालाई सम्वोधन गर्न प्रयोग गरिन्छ (प्रस्थान ३८:१८)। पवित्र स्थानभित्र जाने ढोकामा राखिएको पर्दा (प्रस्थान ३६:३७) वा पवित्र स्थानभित्र भएको दुई पवित्र र महापवित्र कोठालाई अलग गरिन राखेको पर्दा पनि हो (प्रस्थान २६:३१-३५)। ती तीन पर्दाहरूभित्र जान केवल तोकिएका केही व्यक्तिहरूमात्रै जान सक्थे।

लेबी १६:१,२ र लेबी १०:१-३मा चेतावनी दिएको छ। त्यो के हो त? हेर्नुहोस्, “१ हारूनका दुई छोराहरू परमप्रभुको नजिक गएर मरेपछि परमप्रभुले मोशासित कुरा गर्नुभयो। २ परमप्रभुले मोशालाई भन्‍नुभयो, तिम्रो दाजु हारूनलाई सन्‍दूकमाथि भएको कृपा-आसनको सामुन्‍ने पर्दाभित्र महा-पवित्रस्‍थानमा मनपरी नआओस्‌ भन्‌। नत्रता त्‍यो मर्ला, किनभने म कृपा-आसनमाथि बादलमा देखा पर्छु” (लेवीहरू १६:१-२) र “ १ हारूनका छोराहरू नादाब र अबीहूले आफ्‍नो-आफ्‍नो धुपौरो लिएर त्‍यसमा आगो भरे, र त्‍यस आगोमा धूप हालेर परमप्रभुले आज्ञा नगर्नुभएको आगो हालेर उहाँको सामु चढ़ाए। २ यसकारण त्‍यतिखेर परमप्रभुबाट आगो निस्‍केर उनीहरूलाई भस्‍म पार्‍यो, र उनीहरू परमप्रभुको सामु मरे। ३ तब मोशाले हारूनलाई भने, परमप्रभुले भन्‍नुभएको कुरा यही हो: ‘मेरो नजिक आउनेहरूमा म पवित्र बन्‍नेछु, अनि सारा मानिसहरूका सामु म महिमित हुनेछु’। हारून चूप बसे” (लेवीहरू १०:१-३)।

पवित्र परमेश्‍वरको सामु सेवाकार्यमा लाग्ने पुजारीहरूलाई पर्दाले सुरक्षित राख्दथ्यो। सुनको बाच्छालाई परमेश्‍वर भनेर पूजा गरेपछि परमेश्‍वर इस्राएलीहरूसँग क्रुद्ध हुनुभएको थियो (कुनै छोराले आफ्नो बाबुलाई गाइको बाच्छालाई “तपाईँ नै मेरो बुबा हुनुहुन्छ” भनेर ढोग्दा त्यस बाबुलाई कस्तो होला?-अनुवादक)। अनि, आफू पहिला जस्तै ती इस्राएलीहरूको साथमा प्रतिज्ञा गरिएको देशसम्म सँगसँगै यात्रा नगर्ने भनेर परमेश्‍वरले मोशालाई भन्नुभएको थियो। उहाँले उनलाई यसरी भन्नु भयो” ३ दूध र मह बहने त्‍यो देशमा जाओ। तर तिमीहरू हठी मानिस हौ, यसकारण म तिमीहरूका बीचमा हिँड्‌नेछैनँ, नत्रता बाटैमा म तिमीहरूलाई नाश गरुँला” (प्रस्थान ३३:३)। त्यसको फलस्वरुप, मोशाले पवित्र स्थानको पाललाई इस्राएलीहरू बसेको शिविर बाहिर परतिर सारेका थिए (प्रस्थान ३३:७)। तर जब मोशाले परमेश्‍वरसँग उहाँ आफूहरूसँग आउन अनुनय बिन्ति गरे, तब तिनीहरूसँग हिँड्न उहाँले मञ्‍जुर गर्नुभयो (प्रस्थान ३३:१२-२०)। तर, जब परमेश्‍वर तिनीहरूको माझमा हुनुहुन्थ्यो तब मानिसहरूको बचावको निम्ति उहाँले धेरै निति वा कदमहरू स्थापना गर्नुभएको थियो। उदाहरणमा, इस्राएलीहरूले आफ्ना पालहरू टाँग्दा कडा व्यवस्थापन वा क्रमवद्ध नियमहरू अपनाउनु पर्दथ्यो। तिनीहरूको शिबिरको बीचमा ठूलो खाली चौर हुन्थ्यो। लेबीहरूले त्यस चौरमा पवित्रस्थान खडा गर्दथे र त्यसको वरिपरि तिनीहरूले आआफ्ना पालहरू टाँग्दथे। त्यस पवित्रस्थानलाई बाहिरबाट कुनै अपरिचित मानिसहरूले हस्तक्षेप नगरोस् भनेर त्यसको सुरक्षाको निम्ति लेबिहरू रहन्थे (गन्ती १:५१, गन्ती ३:१०)। तिनीहरू मानव धाल वा पर्दा भएका थिए। त्यसले गर्दा तिनीहरूले इस्राएलीहरूलाई पनि सुरक्षित राख्दथे। गन्तीमा यसरी लेखिएको छ: ” ५२ इस्राएलीहरूले आ-आफ्‍नो दलको समूहभित्र र आफ्‍नै झन्‍डाको छेउछाउमा आफ्‍नो शिविर लगाऊन्‌। ५३ तर लेवीहरूले चाहिँ गवाहीको मण्‍डपको वरिपरि आफ्‍नो शिविर लगाऊन्‌, ताकि इस्राएलीहरूको समुदायमाथि क्रोध नपरोस्‌। लेवीहरूले नै गवाहीको मण्‍डपको सेवा-टहलको जिम्‍मा लिऊन्‌।”  ५४ परमप्रभुले मोशालाई दिनुभएका सबै आज्ञाबमोजिम नै इस्राएलीहरूले गरे” (गन्ती १:५२-५४)।

       येशू, हाम्रो पुजारी हुनुहुन्छ। उहाँपनि हाम्रो निम्ति पर्दा हुनुभएको छ। मानव अवतार हुनुभएर, परमेश्‍वरले हाम्रो बीचमा उहाँको पाल टाँग्नुभएको छ र उहाँको महिमाको ध्यान गर्न सम्भव भएको छ (यूहन्ना १:१४-१८)। उहाँले गर्दा नै पापी र असिद्ध मानिसहरूको बीचमा पवित्र परमेश्‍वर रहन सम्भब हुन गएको छ।

सारा जगतको सृष्टिकर्ता र मालिक उहाँका जनहरूको बीचमा रहनुको अर्थ के हो सोच्नुहोस्। इस्राएलीहरू मिश्रदेशका मानिसहरूले हेपेका थिए, तिनीहरूलाई दास बनाएका थिए, ती सभ्य भनेर गौरब गर्ने मिश्री सभ्यताका मानिसहरूले यहूदीहरूलाई धुलोपिठो गरि व्यवहार गरेका थिए, तैपनि तिनीहरूको माझमा परमेश्‍वर रहन राजी हुनुभयो। परमेश्‍वर हाम्रो नजिक कतिको हुनसक्नुहुन्छ भनेर त्यसले के सिकाउँछ?

बुधबार

मार्च २

पर्दाभित्र

हिब्रू १०:१९-२२मा हामीलाई आमन्त्रण गरिएकोछ। त्यो के हो, हेर्नुहोस्, “ १९ यसकारण भाइ हो, येशूको रगतद्वारा महापवित्र स्‍थानमा प्रवेश गर्ने साहस हामीलाई हुन्‍छ। २० हाम्रा निम्‍ति एउटा नयाँ र जीवित मार्ग उहाँले खोलिदिनुभयो, जसको कारण पर्दाद्वारा, अर्थात्‌ उहाँको शरीरद्वारा भएर हामी भित्र पस्‍न सक्‍छौं। २१ परमेश्‍वरको घरानामा हाम्रा एक जना महान्‌ पूजाहारी हुनुभएको हुनाले, २२ हाम्रा हृदय खराब विवेकबाट छर्कोद्वारा चोख्‍याइएर र शुद्ध पानीले हाम्रो शरीरलाई धोएर साँचो हृदयले विश्‍वासको सम्‍पूर्ण भरोसामा हामी परमेश्‍वरको समीप जाऔं।”

येशू स्वर्गमा रहेको पवित्रस्थानमा भित्रिनुभयो र हामीलाई पनि उहाँ पस्नुभएको स्थानमा जान आमन्त्रण गरिएको छ भनेर हिब्रूको पुस्तकले जिकिर गर्दछ। येशू हाम्रो अगुवा र विश्‍वासीहरूको अग्रज भन्ने अघिल्लो धारणाहरूलाई (हिब्रू २:१०; हिब्रू ६:१९,२०; हिब्रू १२:२) यसले पुष्टि गर्दछ। येशू आफ्नो बलिद्वारा र स्वर्गमा जानुभएर नयाँ करारको उद्‍घाटन गर्नुभएको थियो। त्यो नयाँ र जीवित करार थियो। हिब्रू १०:२०मा उल्लेखित “नयाँ र जीवित” भन्ने धारणाले पुरानो करारको व्याख्या बिपरित छ, जुन हिब्रू ८:१३ अनुसार “पुरानो र थोत्रो” छ। येशूबाट पाएको नयाँ करारले हामीलाई पापबाट क्षमा पाउँछौँ र परमेश्‍वरको व्यवस्था वा दश आज्ञाहरू हाम्रा हृदयहरूमा लेखिन पुगेको हुन्छ। यसले गर्दा परमेश्‍वरको सामु निर्भय भएर हामी उभिन सक्छौँ। हामीले केही काम वा धर्मकर्म, परोपकारीय आदि कामहरू गरेर होइन, तर येशूले हाम्रो निम्ति जे गर्नुभयो त्यसले गर्दा परमेश्‍वरको सामु उभिन सक्छौँ, किनभने उहाँले नै करारका सबै माग तथा अभिभाराहरू पुरा गर्नुभएको थियो।

       पुरानो करारको उद्‍घाटनमा पवित्रबासस्थानको उद्‍घाटन र पुजारीहरूको समर्पण समावेश भएको थियो भनेर हिब्रूको लेखकले टिप्पणी गर्दछ (हिब्रू ९:१८-२१सँग प्रस्थान ४० र लेबी ८,९ तुलना गर्नुहोस्)। त्यसबेलाको करारको लक्ष्य थियो कि परमेश्‍वर र उहाँका जनहरूको बीचमा सुमधुर सम्बन्धको सृजना गरोस् (प्रस्थान १९:४-६)। जब परमेश्‍वरले प्रस्ताव गर्नुभएको करारमा इस्राएलीहरूले सहमति जनाए तब त्यसको लगत्तै उहाँले तिनीहरूलाई पवित्रस्थान बनाउन आदेश दिनुभयो। तिनीहरूको बीचमा परमेश्‍वर हुनुहुन्छ भन्ने आभास् तिनीहरूले पाओस् भन्ने उहाँको चाहना थियो। पवित्रस्थानको उद्‍घाटन र उहाँका जनहरूको बीचमा परमेश्‍वरको उपस्थितिको क्षण नै परमेश्‍वर र इस्राएलको बीचमा भएको करार पूरा भएको देखाइएको थियो।

       नयाँ करारमा त्यही कुरो सत्य भएको छ। नयाँ करारले पनि हाम्रो निम्ति येशूको पुजाहारीय सेवाकार्यको उद्‍घाटन भएको जनाउँछ (हिब्रू ५:१-१०, हिब्रू ७:१-८:१३)। जब येशू, परमेश्‍वर पिताको सामु यस संसारबाट उक्लिएर जानुभयो, तब परमेश्‍वरका जनहरूको निम्ति नयाँ युगको उद्‍घाटन भएको थियो। परमेश्‍वरका जनहरूलाई दोष दिन सैतान परमेश्‍वरको सामु उभिएको थियो भनेर जकरिया ३ले उल्लेख गर्दछ। ती जनहरू महापुजारी यहोशूले प्रतिनिधित्व गरेका थिए। त्यो दोष लगाउने त्यही सैतान थियो जसले परमेश्‍वरप्रति विश्‍वासमा अडान भएका अय्यूबलाई पनि दोष लगाएको थियो (अय्यूब १,२)। येशूको बलिदानले सैतानलाई स्वर्गबाट निष्काशन गरिएको थियो (प्रकाश १२:७-१२सँग यूहन्ना १२:३१, यूहन्ना १६:११ तुलना गर्नुहोस्)। अब परमेश्‍वरको सामु हाम्रो निम्ति पहल गर्ने, बिन्तिभाऊ गर्ने येशू हुनुहुन्छ। उहाँको बलिदान र विश्‍वसनीयताले गर्दा हामीलाई उपलब्ध गराइएको मुक्तिको दावी गर्न सक्छौँ!

यदि परमेश्‍वरले अनुमति दिनुभयो भने सैतानले तपाईँलाई के दोष लगाउन सक्दछ? सैतान फताहा त हो, तपाईँलाई दोष दिन उसले कतिको झुठो आरोपहरू लगाउन सक्दछ? तपाईँको आशा केवल के हो?

बिहीबार

मार्च ३

तिनीहरूले उहाँको मुहार हेर्नेछन्

जब हामी परमेश्‍वरको सामु येशूको नाउँमा उपस्थित हुन्छौँ तब अहिले नै हामी स्वर्गको यरुशलेममा पुगिरहेका छौँ भन्ने आभास् हामीले कसरी पाउँछौँ? हेर्नुहोस्, हिब्रू १२:२२-२४ “ २२ तर तिमीहरू त सियोन पर्वतमा आएका छौ, जीवित परमेश्‍वरको सहर, स्‍वर्गीय यरूशलेममा, र असंख्‍य स्‍वर्गदूतहरूको आनन्‍द-उत्‍सवमा आएका छौ। २३ स्‍वर्गमा नाउँ दर्ता भएका पहिला जन्‍मेकाहरूका सभामा तिमीहरू आएका छौ। तिमीहरू सबका न्‍यायकर्ता परमेश्‍वरकहाँ, सिद्ध पारिएका धार्मिक मानिसहरूका आत्‍माका बीचमा, २४ र नयाँ करारका मध्‍यस्‍थ येशूको सम्‍मुख तथा छर्किएको त्‍यस रगतको सामु आएका छौ, जसले हाबिलको रगतभन्‍दा अझ उत्तम वचन बोल्‍दछ।” (यसै सन्दर्भमा एफिसी २:४-६, “ ४ परमेश्‍वर, जो कृपामा धनी हुनुहुन्‍छ, उहाँले आफ्‍नो महान्‌ प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो, ५ यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्‍टसँगै जीवित पार्नुभयो– अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ। ६ र उहाँसँग हामीलाई उठाउनुभयो, अनि स्‍वर्गीय स्‍थानहरूमा ख्रीष्‍ट येशूसँग बसाल्‍नुभयो।” अनुवादकको थप)।

जब विश्‍वासी प्रभु येशूलाई विश्‍वास गर्छन् र उहाँले पहिल्याउनुभएको सत्य मार्गमा हिँड्छन् तब तिनीहरू पनि सियोन पहाड वा स्वर्गको यरुशलेममा आइपुगिसकेका छन् भनेर जिकिर गर्न सक्दछन्। यसको अर्थ, वर्तमान अनुभवले भविष्यको यथार्थतामा तिनीहरू भाग लिइरहेका हुन्छन्। यसरी, स्वर्गको यरुशलेम “आशा गरिएको” तर “अहिले नै आँखाले नदेखिएको” क्षेत्रमा भएका थोकहरूको अधिनमा हामी छौँ। स्वर्गको यरुशलेम विश्‍वासद्वारा सुरक्षित भएको ठोकुवा गर्नु जरुरी छ (हिब्रू ११:१)। हामी हाम्रा प्रतिनिधि येशूद्वारा, सियोनको पहाडमा वा परमेश्‍वरकै उपस्थितिमा छौँ (एफिसी २:५,६, कलस्सी ३:१)। येशू ख्रीष्ट स्वर्गमा जानुभयो भन्ने तथ्य केवल विश्‍वास वा आत्मिकी कुरामात्र होइन, यो वास्तविकता हो। येशू स्वर्गमा जानुभएको ऐतिहासिक तथ्यले नै हिब्रूका पाठकहरूलाई तिनीहरूको विश्‍वासमा अडिग भएर बस्न लेखकले जोडदार अर्ति वा प्रोत्साहन दिँदछन्( हिब्रू ४:१४, हिब्रू १०:२३)। पावलले यो यसरी व्यक्त गर्छन्,” १४ आकाश छिचोलेर जानुभएका परमेश्‍वरका पुत्र येशू हाम्रा महान्‌ प्रधान पूजाहारी हुनुभएको हुनाले हामीले पक्‍कासँग स्‍वीकार गरेको यो विश्‍वास थामिराखौं। १५ किनकि हाम्रा प्रधान पूजाहारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्‍ने हुनुहुन्‍न। तर हामीजस्‍तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो, र पनि पापरहित हुनुहुन्‍थ्‍यो। १६ यसकारण साहससँग अनुग्रहको सिंहासन नजिक जाऔं, र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्‍त गर्न सकौं” (हिब्रू ४:१४-१६)।

       त्यसकारण, हाम्रो प्रतिनिधि येशूद्वारा स्वर्गको यरुशलेममा आइपुगिसकेकाछौँ, र त्यही अनुसार हाम्रो आचरण पनि हुनुपर्दछ। उहाँद्वारा हामीले ” ४ ज्‍योति पाएर स्‍वर्गीय वरदान चाखेका छौँ, र पवित्र आत्‍माका सहभागी भएका छौँ, ५ र परमेश्‍वरको उत्तम वचनको र आउने युगका शक्तिको स्‍वाद चाखेका छौँ, ६ त्‍यसपछि पनि विश्‍वास त्‍याग गरी यदि हामी पतित भयौँ भनेता हामीहरूलाई पश्‍चात्ताप गर्ने स्‍थितिमा फेरि ल्‍याउनु असम्‍भव छ। किनभने हामीहरूले आफ्‍नै खातिर परमेश्‍वरका पुत्रलाई फेरि क्रूसमा टाँग्‍छौँ, र खुल्‍लमखुल्‍ला उहाँको अपमान गर्छौँ” (हिब्रू ६:४-६ रूपान्तरित)। स्वर्गको पवित्रस्थानमा येशू उक्लिनुभएर सेवाकार्य गरिरहनुको अर्था नै हाम्रो निम्ति ” दृढ़ र सुरक्षित लङ्गरको रूपमा यो आशा हामीलाई दिइएको छ। यो आशा पर्दाभित्रको पवित्रस्‍थानमा प्रवेश गर्दछ” (हिब्रू ६:१९ रूपान्तरित)। येशू हाम्रो निम्ति “उत्तम करारको जमानत हुनुहुन्छ” (हिब्रू ७:२२)। त्यसकारण, उहाँद्वारा हामीले पाएका प्रतिज्ञाका तत्वहरूमा जमानत वा ग्यारेन्टी छ र त्यो विश्‍वासयोग्य छ। हाम्रो निम्ति हामीमा भएको आस्था वा विश्‍वास कुनै अध्यात्मकमात्र नभएर ऐतिहासिक अङ्‍कुसमा गाँसिएको छ।

      परमेश्‍वरको उद्देश्य येशूमामात्र होइन, हामीमा पनि पूरा हुन्छ। पौराणिक इस्राएलीहरूले यरुशलेममा तीन पल्ट तिर्थयात्रा गर्नुपर्दथ्यो, त्यो हो निस्तार चाड र पेन्टिकोस्टमा। येशू स्वर्गमा उक्लिनुभएपछि ती दुवै चाडहरू पूरा भएका थिए। तर, हिब्रूको पुस्तक र प्रकाशको पुस्तक अनुसार अन्तिम तिर्थ यात्रा वा झोपडी अर्थात् छाप्रोबासको यात्रा आत्मिक इस्राएलीहरूको निम्ति पूरा भएको छैन। तर त्यो चाड त्यसबेला मनाउनेछौँ जब हामी येशूसँग ” परमेश्‍वरले जग बसाल्नुभएको र निर्माण गर्नुभएको सहरमा भौतिकरूपमा नै हुनेछौँ” (हिब्रू ११:१०)। स्वर्ग हाम्रो निम्ति घर हो। हामीले छाप्रोहरूको निर्माण गर्नेछैनौँ, तर परमेश्‍वरको छाप्रो, पाल वा यरुशलेम सहर स्वर्गबाट ओर्लिनेछ र हामी त्यहाँ उहाँसँग सदा सदा रहिरहनेछौँ (प्रकाश ७:१५-१७; प्रकाश २१:१-४, प्रकाश २२:१-५; गन्ती ६:२४-२६)।

अनन्त जीवनको प्रतिज्ञा अहिले नै हामीले कसरी वास्तविक बनाउन सक्छौँ, जब हाम्रो संसार महामारी, दु:खदर्द, कष्ट, आतङ्क, दुष्टहरूको बिगिबिगीमा पौडिखेलिरहेको छ? कतिले यो त केवल मनगढन्ते र मानिसलाई साम्य पार्ने धारणामात्र हो भनेर भन्छन्, तिनीहरूको निम्ति तपाईँको के जवाफ छ?

शुक्रबार

चैत ४

थप जानकारी: “स्वर्गमा येशू उक्लिनुभएको खबर येशूका चेलाहरूको निम्ति यो सङ्‍केत थियो कि तिनीहरूलाई प्रतिज्ञा गरिएको प्रतिज्ञा तिनीहरूले पाउनेछन्। तिनीहरू काममा लाग्नुभन्दा अघि तिनीहरू पर्खिनु पर्दथ्यो। जब स्वर्गका ढोकाहरूमा येशू पस्नुभयो तब सारा स्वर्गदूतहरूको उल्लास, श्रद्धा र सम्मानको बीचमा उहाँलाई सिंहासनमा विराजमान गरिएको थियो। यो समारोह सक्नेवित्तिकै पवित्र आत्मा ठूलो प्रवाहसाथ चेलाहरूमा ओर्लेका थिए। त्यसबेला येशू ख्रीष्टको महिमा भएको थियो, जुन परमेश्‍वर पितासँग अनन्तकालदेखि थियो। पेन्टिकोस्टमा जब पवित्र आत्मा खनिनुभयो तब त्यसले मुक्तिदाताको उद्‍घाटन सम्पन्त भयो भन्ने स्वर्गको सन्देश थियो। उहाँले प्रतिज्ञा गर्नुभएको अनुसार उहाँले उहाँका अनुयायीहरूलाई स्वर्गबाट पवित्र आत्मा पठाउनुभएको थियो। उहाँ पुजारी र राजा हुनुभएको, स्वर्ग र पृथ्वीमा सारा अधिकार पाउनुभएको र उहाँका जनहरूको निम्ति अभिषेक गरिने काम सम्पन्न भएको त्यस पवित्र आत्माको वर्षाले सूचित गरेको थियो।…”अब तिनीहरू, निर्धक्‍क भएर येशूको नाउँमा बोल्न सक्थ्यो; के उहाँ तिनीहरूको मित्र र जेठो दाजु होइन त? येशू ख्रीष्टसँगको सम्पर्कमा तिनीहरू नजिक भएकोले, तिनीहरू स्वर्गको स्थानमा उहाँसँग बसेका थिए। जब तिनीहरूले उहाँको निम्ति बोले तब तिनीहरूको बोलि र वचनमा कस्तो आगो सल्केको थियो!”-एलेन जी ह्वाइट, द आक्टस् अभ द आपोस्टल्स, पृ. ३८,४८बाट रूपान्तरित।

चिन्तनमनन:

  • भजनसंग्रहको लेखकले यो व्यक्त गरेका थिए, “१ जसरी हरिणले खोलाका पानीको तृष्‍णा गर्दछ, त्‍यसरी नै, हे परमेश्‍वर, मेरो प्राणले तपाईंको तृष्‍णा गर्दछ। २ मेरो प्राण परमेश्‍वरको निम्‍ति, जीवित परमेश्‍वरको निम्‍ति तिर्खाउँछ। म कहिले गएर परमेश्‍वरलाई भेटूँ?”  (भजनसंग्रह ४२:१-२)। परमेश्‍वरको सम्मुखमा आउन हामीमा पनि त्यही खालको तृष्णा कसरी गर्ने? जब उपासना गर्दा अहिले नै हामी उहाँकहाँ विश्‍वासद्वारा आएर रमाउँदैनौँ भने के भविष्यमा हामी रमाउनेछौँ त? परमेश्‍वरको सम्मुख आनन्द हुने के के तत्वहरू छन्?
  • एउटा आस्थामाथि उपहास गर्ने पुस्तकमा कसैले मानव यन्त्रको सृजना गरेको थियो। हाम्रो निम्ति उसले विश्‍वास गर्ने भनेर बनाइएको थियो। यो उपहासको रूपमा लेखिएको भएतापनि मरुभूमिको यात्रामा इस्राएलीहरूले गरेको भूल हामीले नदोहोर्‍याउन के गर्ने? परमेश्‍वरसँग सिधै बोल्ने अवसर हुँदाहुँदै पनि तिनीहरूले मध्यस्थकर्ताहरूको माग गरेका थिए। हाम्रो निम्ति अरूहरूले प्रार्थना गरोस् र बाइबल पढोस् र हामीलाई चाहिने बाइबलका मोतीहरू भेट्टाइदियोस् भन्ने चाहना गर्ने हाम्रो बानी छ। कतिपयले त आफ्नो निम्ति अरूहरूले प्रार्थना गरे परमेश्‍वरले बढि सुन्नहुन्छ भनेर सोच्दछन्। यो आत्मिक धरापबाट हामी कसरी उम्किने? येशूले गर्दा, हामी सिधै परमेश्‍वरकहाँ पुग्न सक्छौँ र अरू माध्यमको आवश्यकता छैन भन्ने सोचमा हामी कहिले पुग्ने?
  • हिब्रूको पुस्तकले हामीलाई मुक्ति दिलाएको छ भनेर निश्‍चयता दिएको छ। तर त्यसो भयो भन्दैमा हामीले मुक्ति पाइ हाल्छौँ नि भनेर हाम्रो उचित मानसिक, भौतिक र आत्मिक जीवनको जीवनशैलीलाई किन वेवास्ता गर्नुहुन्न?